शेयर बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने मूलभूत कुराहरु

स्मार्ट फोन र त्यसबाट सजिलै चलाउन सकिने इन्टरनेट, फेसुबुक, टिक टकको जमानामा धेरैले शेयर बजार (स्टक मार्केट) मा लगानी गर्ने र त्यसो गर्दा फाइदा हुने जस्ता सामान्य तर अपूर्ण जानकारी पाएको देखिन्छ । अमेरिकाको हकमा शेयर बजारमा लगानी गर्नको लागि थुप्रै स्टक ब्रोकरेज कम्पनीहरुले सजिलो प्रकारको स्मार्ट फोन एप्स (Apps) उपलब्ध गराएका छन् जसको माध्यमबाट ब्रोकर कम्पनीमा सजिलै सँग खाता खोल्न, त्यसमा पैसा डिपोजिट गर्न र कुनै पनि पब्लिक कम्पनीको शेयर किनबेच गर्न सकिन्छ । हामीसँग भएको स्मार्ट फोनको माध्यमबाट केही सेकेन्डमा नै शेयर किनबेच गर्न सकिन्छ । यसरी शेयर किनबेचको माध्यमलाई अति सुलभ बनाइएको कारण अमेरिकामा बसोबास गर्ने धेरै नेपालीहरुले स्टक ब्रोकरेज कम्पनीहरुमा शेयर इन्भेष्टमेन्ट खाता खोली आफै शेयर किनबेच गरेको पाइएको छ । तथापी यसरी शेयर कनिबेचबाट पैसा कमाउने भन्दा डुबाउनेहरु बढी भएको देखिन्छ । लगानी डुब्नुको मूख्य कारण शेयर मार्केटलाई जुवा वा क्यासिनो सँग दाँजेर छिट्टै पैसा कमाएर धनी हुन खोजेको, यस बारेमा आवस्यक जानकारी नलिइकनै हल्लै हल्लाको भरमा लगानी गरेको, आफू धेरै जान्ने छु भनेर ओभर कन्फिेडेन्स भएको, आदी कारण देखिन्छ । शेयर मार्केटमा लगानी गर्दा जान्नै पर्ने मूलभूत कुराहरु यहाँ उल्लेख गरिएको छ ।

शेयर खरिद गर्दा कम्पनीको छनौट कसरी गर्ने?

ठूला–साना, चलेका वा नामै नसुनेका हजारौं पब्लिक कम्पनीहरु स्टक एक्स्चेन्जमा लिष्टिङ भएका हुन्छन् जसको हामी शेयर किनबेच गर्न सक्छौं । यसरी कम्पनी छनौंट गर्दा उक्त कम्पनीको व्यापार व्यवशाय कस्तो छ, कहिले स्थापना भएको र संचालनमा आएको हो, त्यसको व्यापारिक क्षेत्र के हो, त्यसको शेयरको किनबेच दिनहुँ कति मात्रामा भइरहेको छ, त्यसमा कस्ता प्रकारका लगानीकर्ताहरुले लगानी गरेका छन्, आर्थिक एवं व्यापारिक अवस्था के कस्तो छ, त्यसको मार्केट कुन हो, कुन सेक्टरको कम्पनी हो, आदी कुराहरु थाहा पाउनु जरुरी हुन्छ । साथै सो कम्पनीको शेयरको भाउ कुन दरले बढिरहेको वा घटिरहेको छ, र त्यो हुनुको मूल कारण के हो लगाएतका कुराहरु समेत थाहा पाउनु जरुरी हुन्छ । यदी कुनै नामै नसुनेको कम्पनीको शेयर भाउ छोटो समयमा धेरै मात्रामा बढेको पाइएको छ भने त्यो हुनुको कारण कि त सो कम्पनीको व्यापार व्यवशायमा आमूल परिर्वतन आएको हुनुपर्छ र सो नभए हल्लै हल्लाको भरमा मान्छेहरुले शेयर किनबेच गरेर बढेको हुनसक्छ वा शेयर भाउ बढाएर बेच्ने खेल (शेयर मेनिपुलेशन) भएको हुनसक्छ । यी कुराहरु के हो पत्ता लगाएर मात्र लगानी गर्नु उचित हुन्छ । प्रायः ठूला बहुराष्ट्रिय कम्पनीहरु, जस्तैः एमेजन, वाल मार्ट, एप्पल, फेसबुक, आदीको शेयरहरु सुस्त गतिमा बढ्ने वा घट्ने भइरहेको हुन्छ, र यस प्रकारका कम्पनीहरुमा लगानी गर्दा जोखिम कम हुन सक्दछ ।

यदी कुनैपनि एउटा कम्पनीको शेयर खरिद गर्न डर भएमा थुप्रै कम्पनीहरुको शेयरमा लगानी गर्ने इन्डेक्स फण्ड (Index Fund) को शेयर खरिद गर्दा पनि हुन्छ । यसरी इन्डेक्स फण्डमा लगानी गर्दा भने व्यापारिक जोखिम कम हुन्छ तर शेयर मार्केट रिस्क भने हुन्छ नै । उदाहरणको लागि यदी उक्त इन्डेक्स फण्डले अमेरिकाका एस एण्ड पि ५०० (S&P 500) मा लगानी गरेको छ भने यदी शेयर बजारको भाउ पुरै घटेको अवस्थामा उक्त इन्डेक्स पनि घट्छ र सोही दरमा इन्डेक्स फण्डको शेयर भाउ पनि घट्न जाँदछ । यस बारेमा बृस्तीत विवरण तल दिइएको छ ।

कुनैपनि पब्लिक कम्पनीको बारेमा विविध कुराहरु कसरी थाहा पाउने?

कुनैपनि पब्लिक कम्पनीको बारेमा बृस्तीत विवरण प्रायः आफूले जुन स्टक ब्रोकरेज कम्पनीमा खाता खोलेको हो (जस्तैः इन्टर्याक्टिभ ब्रोकर, इट्रेड, रविनहुड्, वीबुल, आदी) त्यही ब्रोकरेज कम्पनीको वेबसाइट वा स्मार्ट फोन एप्समा बृस्तीत रुपले दिइएको हुन्छ । साथै अन्य थुपै्र वेबसाइटहरुमा पनि दिइएको हुन्छ ती मध्ये केही निम्नलिखित रहेका छन्ः

१) https://finance.yahoo.com/
२) https://www.google.com/finance/
३) https://www.tradingview.com/markets/
४) https://www.investing.com/

शेयर खरिद गरिसकेपछि त्यसबाट नोक्सान हुनबाट कसरी बच्ने?

शेयर बजारमा लगानी गर्नु भनेको नाफा कमाउनु मात्र नभएर आफ्नो लगानीलाई त्यतिकै रिस्कमा राख्नु पनि हो । हामीले जुनसुकै भाउमा शेयर खरिद गरेता पनि त्यसको भाउ तुरन्त घट्दैन भन्न सकिँदैन । त्यसैले प्रायः व्यवशायिक स्टक ट्रेडरहरुले शेयर खरिद गरिसके पछि स्टप लस वा जेखिम रोक्ने (Stop Loss) अर्डर पनि सँगै राखेका हुन्छन् । उहाहरणका लागि यदी हामीले कुनै कम्पनीको शेयर ३० डलरमा खरिद गर्यौं भने त्यति नै बेला हामीले त्यो शेयरलाई किनेको भाउभन्दा केही कम अर्थात २८ डलरमा बेच्ने भनी अर्डर राख्न सकिन्छ जसलाई स्टप अर्डर (Stop Order) भनिन्छ । उक्त अर्डर दिनभर, हप्ता वा महिना वा सो भन्दा बढी समयको लागि राखिएको हुन्छ । त्यसो गर्दा यदी हामीले किनेको शेयरको भाउ घटेर २८ वा सो भन्दा कम भयो भने त्यो शेयर त्यतिबेलाको बजार भाउमा आफै बिक्री हुन्छ र धेरै पैसा डुब्नबाट जोगिन सकिन्छ । त्यतिबेलाको बजार भाउ भन्नाले जस्तै यदी शेयरको भाउ ३० बाट एकैचोटी घटेर २५ हुनगयो भने हाम्रो शेयर २५ डलर मा नै बिक्री हुन्छ, हामीले चाहेको २८ डलरको भाउ पाइँदैन । तर यदी शेयर भाउ ३० बाट बिस्तारै घटेर २८ हुँदै तलतिर गएको अवस्थामा भने २८ डलर पुग्ने बित्तिकै स्वतः बिक्री हुँदछ । यसरी शेयर भाउ घट्दै जाँदा २८ डलर बाट पनि अझै तल घटेको अवस्थामा त्यसको अवलोकन गर्दै गरेर पुनः त्यो शेयरलाई अझै कम मूल्यमा खरिद गर्न सकिन्छ । अनि पुनः शेयरको भाउ बढेको अवस्थामा बेच्दा पहिले भएको घाटालाई पनि उकास्न सकिन्छ ।

Stock Trading Order Method Titanhub

त्यसैगरी शेयर खरिद गरिसकेपछि त्यसको भाउ कतिसम्म बढेको अवस्थामा बेच्ने भनेर पनि अर्डर राख्न सकिन्छ जसलाई लिमिट अर्डर (Limit Order) भनिन्छ । जस्तै यदी ३० डलरमा किनेको शेयरको भाउ बढेर ३५ डलर पुगेमा त्यतिमा बेच्ने भनेर लिमिट अर्डर राख्न सकिन्छ र दिन, हप्ता वा महिनौ सम्मको लागि लागि राख्न सकिन्छ । यदी उक्त अवधी भित्रमा हाम्रो शेयर भाउ ३५ वा सो भन्दा बढी पुगेमा त्यतिबेलाको मार्केट भाउ बमोजिम हाम्रो शेयर पनि स्वतः बिक्री हुन्छ । जस्तै यदी अघिल्लो दिन उक्त शेयरको भाउ ३४ डलर छ, तर भोलिपल्ट एकैछोटी ४० डलर पुग्यो भने यदी हामीले ३५ डलरको लिमिट अर्डर राखेता पनि हाम्रो शेयर ४० डलरमा नै बिक्री हुन्छ ।

प्रायजसो सर्बसाधारण लगानीकर्ताहरुले शेयर किनेपछि घाटामा बेच्नै हुन्न भन्ने मान्यता राखेको पाइन्छ । त्यो मान्यता पूर्णतयाः गलत नै हो त भन्न मिल्दैन । तर यदी हामीले शेयर किन्दाको मूल्य धेरै बढी परेको रहेछ भने त्यसको भाउ घटेर धेरै नै तल झर्ने जोखिम हुन्छ । उदाहरणको लागि कुनै कम्पनीको बारेमा हल्लै हल्लाको भरमा वा शेयर म्यानिपुलेशन भएको अवस्थामा त्यसको बास्तविक भाउ भन्दा धेरै गुना भाउ बढेको हुन सक्दछ । यदी हामीले त्यसरी भाउ धेरै माथि पुगेको अवस्थामा किन्न पुगेमा त्यसको भाउ आधा वा सो भन्दा पनि कम वा धेरै नै घट्न पनि सक्दछ । त्यसैले यदी स्टप लस (Stop Loss) अर्डर राखिएको छैन भने हाम्रो लगानीमा ठूलो घाटा हुन सक्छ र हामीले किनेको मूल्यमा उक्त शेयरको भाउ कहिले नपुग्न पनि सक्दछ । त्यसैले केही घाटैमा बेचेर भाउ अझै तल घटेपछि उक्त शेयर पुनः खरिद गर्दा ठूलो घाटा हुनबाट जोगिन्छ र उल्टै नाफा कमाउन पनि सकिन्छ।

कुनैपनि कम्पनीको व्यापारिक जोखिम (बिजनेस रिस्क) बाट कसरी बच्ने?

कुनैपनि कम्पनीको व्यापार व्यवशाय संचालनमा भएको उतार-चढावको कारण उक्त कम्पनीको शेयर भाउ (Share price) मा हुने जोखिमलाई व्यापारिक जोखिम (बिजनेस रिस्क / Business Risk) भनिन्छ। कम्पनीले शाखा खोलेर वा नयाँ कम्पनी खरिद गरेर बिस्तार भएमा, व्यापार व्यवशाय घट्बढ् भएमा, त्यो कम्पनीको बिरुद्ध कुनै मुद्धा मामिला परेमा, सरकारी निकायबाट कुनै अनुसन्धान भएमा, आदी कारणले उक्त कम्पनीको शेयर भाउमा तलमाथि हुन जाँदछ । यस प्रकारको बिजनेस रिस्कबाट बच्ने एउटै उपाय भनेको आफ्नो लगानीलाई एउटै कम्पनी वा एउटै सेक्टरको कम्पनीमा मात्र लगानी नगरी छुट्टा छुट्टै क्षेत्रका छुट्टा छुट्टै कम्पनीहरुमा लगानी गर्नुपर्ने हुन्छ । यस प्रकारले लगानी गरिने तरिकालाई लगानी बिविधीकरण (इन्भेस्टमेन्ट डाइभर्सिफिकेशन / Investment Diversification) भनिन्छ । उदाहरणको लागि यदी हामीसँग १०,००० डलर छ भने त्यसमध्ये १० प्रतिशत (१,००० डलर) ले कुनै बैंकको शेयर खरिद गर्नु, अर्को ३० प्रतिशत (३,०००) ले टेक्नोलोजी सेक्टरको शेयर, जस्तै एप्पल, फेसबुकको शेयर खरिद गर्नु, अर्को १५ प्रतिशत (१,५००) दैनिक उपभोग्य सामान बेच्ने कम्पनीहरु जस्तै वालमार्ट, कस्को, टार्गेट जस्ता कम्पीको शेयर खरिद गर्नु, अर्को १० प्रतिशत ट्राभल उद्योग जस्तै एअरलाइन्स कम्पनीको शेयर खरिद गर्नु, अनि बाँकी त्यस्तै विभिन्न सेक्टरमा लगानी गर्नु हो। यसरी लगानीलाई विविधीकरण गरेपछि कुनै एउटा कम्पनी वा एउटा सेक्टरको कम्पनीहरुको शेयर भाउ घटेता पनि अर्को कम्पनी वा अर्को सेक्टरको कम्पनीहरुको शेयरको भाउ बढेको हुन सक्दछ र लगानी व्यालेन्समा रही नोक्सान हुनबाट जोगिन सकिन्छ ।

यस प्रकारको व्यापारिक रिस्कबाट बच्ने अर्को उपाय भनेको इन्डेक्स फण्डको शेयर खरिद गर्नु हो । उदाहरणको लागि S&P 500 इन्डेक्स फण्डले उक्त इन्डेक्सका ५०० वटा कम्पनीहरुको शेयरमा लगानी गरेको हुन्छ र यसमा लगानी गर्दा व्यापारिक रिस्कबाट बच्न सकिन्छ ।

शेयर बजारको जोखिम (स्टक मार्केट रिस्क) बारे कसरी थाहा पाउने र यसबाट कसरी बच्ने?

शेयर बजारमा लगानी गर्दा हुने सबैभन्दा ठूलो र बच्न धेरै नै कठिन हुने रिस्क भनेको सम्पूर्ण शेयर बजार जोखिम अर्थात स्टक मार्केट रिस्क (Market Risk) हो । उदाहरणका लागि यदी स्टक मार्केटमा रहेका अधिकांश कम्पनीको शेयर भाउ घटेको अवस्थामा अन्य घट्न नपर्ने कम्पनीको शेयर भाउ पनि घट्न जाँदछ । यस प्रकारको रिस्कको बारेमा थाहा पाउनका लागि अमेरिकाको प्रमूख स्टक इन्डेक्सहरु, जस्तै डाउ जोन्स (Dow Jones), एस एण्ड पी ५०० (S&P 500), नास्डाक १०० (NASDAQ 100) लाई लिन सकिन्छ। यी इन्डेक्स (Index) घट्नु वा बढ्नु भनेको सम्पूर्ण स्टक मार्केटको भाउ घट्नु वा बढ्नु सरह हो । उदाहरको लागि यदी एस एण्ड पी ५०० इन्डेक्स १ प्रतिशतले घटेको छ भने प्रायः सम्पूर्ण कम्पनीहरुको शेयर भाउ पनि १ प्रतिशत वा सो भन्दा बढी वा कम मात्रामा घटेको पाइन्छ। कुन कम्पनीको शेयरको मार्केट रिस्क कति छ भनेर थाहा पाउन उक्त कम्पनीको बेटा (Beta) थाहा पाउनु पर्दछ । जस्तै यदी कुनै कम्पनीको बेटा १ छ भने एस एण्ड पी ५०० इन्डेक्स १ प्रतिशत घट्दा त्यो कम्पनीको भाउ पनि १ प्रतिशत नै घट्न सक्छ भने यदी बेटा ३ छ भने ३ प्रतिशत घट्छ भन्ने हो । कुनै कम्पनीको बेटा ०.५ छ भने एस एण्ड पी ५०० इन्डेक्स १ प्रतिशत घट्दा त्यसको भाउ ०.५ प्रतिशत मात्र घट्छ भन्ने हो । यस प्रकारले स्टक इन्डेक्समा हुने घटबढ मार्केट रिस्क मात्र नभएर मार्केट अवसर (Market Opportunity) को रुपमा पनि लिन सकिन्छ । जस्तै यदी एस एण्ड पी ५०० इन्डेक्स १ प्रतिशतले बढेको छ भने प्रायः धेरैजसो कम्पनीहरुको शेयर भाउ पनि सोही बेटा (Beta) को आधारमा बढेको पाइन्छ । माथि उल्लेखित इन्डेक्सहरु थाहा पाउनका लागि डाउ जोन्स (^DJI), एस एण्ड पी ५०० (^SPX), नास्डाक १०० (^NDX) भनेर खोजी गर्न पनि सकिन्छ । प्रायः स्टक मार्केटको एपहरुमा यी इन्डेक्सहरु सुरुमै दिइएका हुन्छन् ।

हामीले तपाईंको पैसालाई कसरी सुरक्षितसँग लगानी गर्न सहयोग गर्दछौं?

अमेरिकाको न्यू योर्क राज्यबाट मान्यता प्राप्त यस टाइटन्हव क्यापिटल मेनेज्मेन्ट रष्टिर्ड इन्भेष्टमेन्ट एडभाइजर (Registered Investment Advisor) भएकोले हामीले हाम्रो ग्रहकहरुको पैसालाई सकेसम्म खोजिम कम हुने र बढी फाइदा हुने तवरले विभिन्न कम्पनीहरुमा लगानी गर्दछौं । हामीबाट प्राप्त हुने सेवाको बारेमा बृस्तीत विवरणका लागि यहाँ क्लिक गर्नुहोलाः https://www.titanhub.com/np/portfolio/portfolio-management/